
विश्वभरि भएका डाटा ह्याकिङ घटनामध्ये ८० प्रतिशतभन्दा बढी कमजोर पासवर्डकै कारण हुने गरेका छन्।
आजको युगमा वेबसाइट भनेको केवल इन्टरनेटमा देखिने एउटा पृष्ठ मात्र होइन; यो संस्था, व्यवसाय, वा व्यक्तिगत ब्राण्डको डिजिटल परिचय हो। वेबसाइटमा कम्पनीको सेवा, जानकारी, ग्राहक डेटा, भुक्तानी प्रणाली, कर्मचारी विवरणदेखि गोप्य फाइलहरूसम्म रहने भएकाले यसको सुरक्षा अत्यन्त संवेदनशील विषय हो। तर, दुःखको कुरा के छ भने नेपाललगायत विश्वभर अधिकांश वेबसाइटहरू सुरक्षाका आधारभूत मापदण्डहरूबिना नै सञ्चालन भइरहेका छन्।
ह्याक हुनुको पहिलो र प्रमुख कारण भनेको कमजोर वा खराब सर्भर हो। सस्तो र अज्ञात होस्टिङ सेवा प्रयोग गर्दा वेबसाइटले आवश्यक सुरक्षा प्रणाली जस्तै– अपडेटेड फायरवाल, DDOS प्रोटेक्सन, र Server-level scanning जस्ता सुविधा प्राप्त गर्दैन। ह्याकरहरूले यिनै कमजोरीहरू खोजेर सजिलै सिस्टममा प्रवेश गर्छन्।
यसबाहेक वेबसाइटको ब्याकइन्ड प्रणाली सुरक्षित नभए ह्याक हुनु झन् सजिलो हुन्छ। धेरै वेबसाइटहरू अझै पनि default username (admin) र सामान्य पासवर्ड (12345) मा चलिरहेका छन्। यस्तो अवस्थाको फाइदा उठाएर ह्याकरले brute force attack (अनुमान लगाएर पासवर्ड तोड्ने) प्रयोग गर्छन्। त्यस्तै, Content Management System (CMS) को पुरानो संस्करण प्रयोग गर्दा त्यसभित्र भएका सुरक्षाको कमजोरी (vulnerability) हरूको जानकारी ह्याकरलाई पहिल्यै थाहा हुन्छ। त्यसैगरी, अनावश्यक वा अनभिज्ञ third-party plugin हरू, Open Directory Access, र misconfigured file permission पनि ह्याकको द्वार खोल्ने कारक हुन्छन्। कुनै–कुनै अवस्थामा त FTP Access खुलेको अवस्थामा छाडिने र database बिना इन्क्रिप्सनका राखिने जस्ता लापरवाहीहरू समेत पाइएको छ। यी सबै कारणले गर्दा वेबसाइट ह्याक हुनु अस्वाभाविक होइन, अनिवार्यजस्तै बन्दै गएको छ।
जब वेबसाइट ह्याक हुन्छ, तब सबैभन्दा धेरै असर उसभित्र रहेको डेटा मा पर्छ। वेबसाइटहरूमा ग्राहकको व्यक्तिगत विवरण (जस्तै: नाम, ठेगाना, इमेल, फोन नम्बर), वित्तीय विवरण (जस्तै: क्रेडिट कार्ड नम्बर, बैंक खाता), गोप्य कागजातहरू, व्यवसायिक रणनीति, र महत्वपूर्ण कन्फिगरेसन फाइलहरू हुन्छन्। यस्ता विवरण ह्याकरका लागि अमूल्य सम्पत्ति हो। ती जानकारीहरू डार्क वेबमा बेचिन्छ, जसबाट अरबौं डलरको साइबर अपराध सम्भव हुन्छ। डेटा बेच्ने मात्र होइन, फिशिङ (Phishing) र स्प्याममार्फत ठगी गर्ने, डेटा होल्ड गरेर ब्ल्याकमेल गर्ने, वा कम्पनीकै साख नष्ट गर्ने उद्देश्यले समेत ह्याक गरिन्छ।
राजनीतिक ह्याकरहरूले वेबसाइट ह्याक गरेर विरोध सन्देश पोष्ट गर्ने, सरकारी नीति, सेना वा राष्ट्रविरोधी सूचना फैलाउने, वा प्रतिद्वन्द्वी पार्टी वा राष्ट्रलाई नीच देखाउने प्रयास गर्छन्। केही ह्याकरहरूको उद्देश्य भनेको केवल आफ्नो क्षमता देखाउनु, "challenge complete" गर्नु, वा साइबर संसारमा नाम कमाउनु पनि हुन्छ।
यस्ता ह्याकरलाई Grey Hat Hacker भनिन्छ। अर्कोतर्फ, Black Hat Hacker भने आर्थिक र नीतिगत क्षति पुर्याउने उद्देश्यले योजनाबद्ध आक्रमण गर्छन्। ह्याकर समूहहरू प्रायः देशीय गुप्तचर संगठनहरूसँग मिलेर डिजिटल युद्धको रुपमा काम गर्दछन्, जसलाई साइबर वार (Cyber War) भनिन्छ।
एउटा वेबसाइट ह्याक हुँदा केवल वेबसाइट मालिकको मात्र नभई हजारौं प्रयोगकर्ताको गोपनीयता, आर्थिक सुरक्षा र विश्वाससमेत खतरामा पर्छ। ई–कमर्स साइट ह्याक हुँदा ग्राहकको क्रेडिट कार्ड चोरिन्छ, विद्यालय वा क्लिनिक साइट ह्याक हुँदा विद्यार्थी वा बिरामीको विवरण बाहिरिन्छ। कुनै–कुनै केसमा वेबसाइटको DNS नै बदलिन्छ र प्रयोगकर्तालाई गलत साइटतिर डाइरेक्ट गरिन्छ, जसबाट फेक भुक्तानी वा मालवेयर इन्स्टल हुने खतरा रहन्छ।
वेबसाइट ह्याकबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको शुरुदेखि नै सुरक्षा रणनीति अपनाउनु हो। वेबसाइट निर्माण गर्ने बेलामै सुरक्षा पहिलो प्राथमिकतामा राखिनुपर्छ। सर्वप्रथम, विश्वसनीय होस्टिङ सेवा छनोट गर्नु अत्यावश्यक हुन्छ जसले सक्रिय फायरवाल, म्यानेज्ड अपडेट, र DDOS प्रतिरोध क्षमता राख्दछ। Cloudflare जस्ता CDN सेवा प्रयोग गर्दा अतिरिक्त सुरक्षा, स्पीड, र DNS-level रक्षा उपलब्ध हुन्छ। त्यसपछि, वेबसाइटमा SSL सर्टिफिकेट अनिवार्य रूपमा प्रयोग गरिनुपर्छ जसले वेबसाइटलाई HTTPS मा चलाउने गर्छ, र प्रयोगकर्ता डेटा इन्क्रिप्ट गरेर पठाइन्छ।
ब्याकइन्ड सुरक्षाका लागि, दुई चरणीय प्रमाणीकरण (2FA), reCAPTCHA, IP whitelisting, Geo-blocking र login alert प्रणाली अनिवार्य बनाइनुपर्छ। CMS जस्तै WordPress, Joomla, Drupal आदि प्रयोग गर्दा Plugin/Theme अपडेट नियमित गरिनुपर्छ र अनावश्यक Plugin हटाउनुपर्छ। Web Application Firewall (WAF) जस्तै Sucuri वा Wordfence प्रयोग गर्दा अज्ञात आक्रमण रोक्न सकिन्छ। साथमा, Malware scanner, automatic file checker, brute force protection जस्ता संयन्त्रले वेबसाइटलाई सुरक्षित बनाउँछ।
नियमित Security Audit गर्नुपर्ने अर्को महत्वपूर्ण कार्य हो। साप्ताहिक रूपमा वेबसाइट स्क्यान गरिनु, Access Logs परीक्षण गरिनु, र Admin Panel मा एकपटक लगइन भएमा Session Expire नीति लागू गरिनु जरुरी हुन्छ। सबै data इन्क्रिप्टेड हुनुपर्छ, चाहे त्यो डेटाबेस होस् वा user input। वेबसाइटमा भएका config.php, .env, .htaccess जस्ता संवेदनशील फाइलहरू सुरक्षित डाइरेक्टरीमा राखिनुपर्छ। साथै, Website को पूर्ण बैकअप नियमित रूपमा लिनुपर्छ र cloud वा remote server मा सुरक्षित राखिनुपर्छ ताकि आकस्मिक ह्याक भएपनि तुरुन्त restore गर्न सकियोस्।
प्रकाश उप्रेती सुचना प्राविधिको क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुनुहुन्छ। उहाँले सूचना प्रविधि, डिजिटल मिडिया, र नवप्रवर्तनमूलक प्रविधिहरुमा निरन्तर कलम चलाउँदै आउनुभएको छ। लेखन तथा अनुसन्धानका माध्यमबाट प्रविधिको उपयोग, प्रभाव र विकासक्रममाथि गहिरो चासो राख्नुहुन्छ।
विश्वभरि भएका डाटा ह्याकिङ घटनामध्ये ८० प्रतिशतभन्दा बढी कमजोर पासवर्डकै कारण हुने गरेका छन्।
नेपालमा इन्टरनेटको पहुँच तीव्र रूपमा बढिरहेको छ, र यससँगै कम्प्युटर भाइरसको जोखिम पनि बढिरहेको छ। त्यसैले, यस समस्याबाट जोगिनको लागि सजग हुनु अत्यावश्यक छ।
डिजिटल युगको प्रभावले युवालाई सानो लगानीमा व्यवसाय सुरु गर्ने सम्भावना दिएको छ। इन्टरनेट, मोबाइल एप, सामाजिक सञ्जाल, मोबाइल वालेट, डिजिटल मार्केटिङ, र कम लागतमा उपलब्ध उपकरणहरूले उनीहरूलाई सशक्त बनाएका छन्।
नेपालमा पनि इन्टरनेटले ग्रामीण क्षेत्रसम्म सूचना प्रवाह र शिक्षा विस्तारमा ठूलो योगदान पुर्याएको छ। तर यसको दुरुपयोग रोक्न सचेतना, नीति र प्रविधिको सही संयोजन आवश्यक छ। इन्टरनेटको सही प्रयोगले ज्ञान, सुचना र अवसरको विश्व खोलेको छ। त्यसैले, "सजग बनौं, सुरक्षित इन्टरनेट प्रयोग गरौं।"
सूचना विभाग दर्ता नं. YYY-०८१/८२
कमलपोखरी, काठमाडौं, नेपाल
info@biratinfo.com
Copyright © 2025 BIRAT Informatics Pvt.