भूराजनीतिक दबाबको सामना गर्नुपर्ने परिस्थितिमा परे पनि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक चातुर्य र राजनीतिक संतुलनको कौशल यति बलियो छ कि उनको अगाडि कसैको रणनीति सफल हुन सक्दैन। विगत चार दशकदेखि निरन्तर राजनीतिमा क्रियाशील देउवा आज नेपाली राजनीतिमा स्थायित्व, लचकता र संयोजनको प्रतीक बनेका छन्।
आजको राजनीतिक परिदृश्यमा नेपाली कांग्रेस नेतृत्व गर्न सक्ने दूरदृष्टि र सबल नेतृत्वशैली देखाउँदै आएका देउवा पार्टीभित्रको एकता, संस्थागत सुधार र अनुशासन कायम राख्न सफल भएका छन्। १५ औँ महाधिवेशन नजिकिँदै गर्दा उनले गुटविहीन कांग्रेसको सपना साकार पार्न संगठनभित्र सन्तुलन कायम गर्ने नयाँ अभ्यास थालेका छन्। उनी निकट नेताहरूका अनुसार देउवाले पार्टीभित्रका विभिन्न समूहहरूलाई समेट्दै, आगामी नेतृत्व उत्पादन गर्ने रणनीतिक निर्णयहरू गर्दै आएका छन्।
शेरबहादुर देउवा नेपाली राजनीतिका प्रौढ र परिपक्व नेतृत्वकर्ता हुन्। संसदवादी प्रणालीको रक्षा, लोकतान्त्रिक मूल्यको स्थायित्व र सरकार सञ्चालनमा स्थिर नेतृत्व दिँदै आएका देउवाको अगुवाइमा अहिले पनि नेपाली कांग्रेस सबै पार्टीहरूभन्दा संगठित र संरचित अवस्थामा रहेको छ। पार्टीभित्रका चुनौतिपूर्ण विषयहरूलाई छलफल र समन्वयबाट समाधान गर्ने शैली देउवाको सबैभन्दा बलियो पक्ष हो।
काँग्रेसभित्र देखा पर्ने साना-ठूला विवादहरूलाई उनले सहमतिमार्फत समाधान गर्दै आएका छन्। यदि विवाद झनै पेचिलो भयो भने पार्टीको विधानमै सुधार गरेर समाधान खोज्न सक्ने साहसी निर्णयकर्ताको छवि उनले बनाएका छन्। राजनीतिको यो निर्णायक मोडमा देउवाले नेतृत्व गरेको सरकारलाई चौतर्फी आलोचना भए पनि, उनले सबैलाई मिलाएर अगाडि बढाउने समावेशी राजनीतिको अभ्यास गरेका छन्, जसको परिणामस्वरूप आलोचनाहरू बिस्तारै ओझेल पर्दै गएका छन्।
पार्टीभित्र नयाँ नेतृत्वको तयारीमा देउवाको सक्रियता
पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिने सोचका साथ सभापति देउवा अहिले युवालाई नेतृत्वको भूमिकामा ल्याउने रणनीतिमा लागिरहेका छन्। उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एनपी साउददेखि डा. आरजु राणा देउवासम्मका नेताहरूमा देउवाको सन्तुलित सल्लाह, सहयोग र समन्वय देखिन्छ।
पूर्णबहादुर खड्का, देउवाको विश्वासपात्र उपसभापति, हाल पार्टीभित्रको सांगठनिक संरचना व्यवस्थापन र समन्वयमा प्रभावशाली रूपमा देखा परेका छन्। खड्काको क्रियाशीलता र संयमता पार्टीको आगामी नेतृत्वका लागि तयारीको संकेत हो। अर्कोतर्फ, गगन थापा नेपाली कांग्रेसको युवापुस्ता नेतृत्वमा चम्किरहेका एक प्रभावशाली नेता हुन्। उनले लामो संघर्षपछि महामन्त्री बनेका छन् र आगामी सभापतिको सम्भावित दावेदारका रूपमा देखिएका छन्। सभापति देउवाले उनलाई उपसभापतिका लागि तयार गरिरहेका संकेतहरू देखिन्छन्।
विश्वप्रकाश शर्मा, झापा जिल्लाबाट उदाएका, सुसंस्कृत भाषाशैली र विचारधारामा स्पष्टता भएका नेता हुन्। विद्यार्थी राजनीतिबाट आएको अनुभवलाई उनी अब संस्थागत तहमा उपयोग गर्दै छन्। सभापति देउवाको सहयोग र समर्थनले शर्मा पनि उपसभापतिका बलियो दावेदारका रूपमा उभिएका छन्।
एनपी साउद, देउवा निकट र संयमी नेताका रूपमा परिचित छन्। उनी कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री बन्न चुकेका भए पनि, अबको महाधिवेशनमा त्यो अभाव पुरा गर्ने दृढ इच्छाशक्तिसहित अघि बढिरहेका छन्। साउदको स्थिरता र भद्र स्वभाव पार्टीभित्र समन्वयकारी नेताको खाँचो पूरा गर्न सक्ने खालको छ।
डा. आरजु राणा देउवा, सभापति देउवाकी जीवनसाथी मात्र होइन, कांग्रेसभित्रको एक प्रभावशाली महिला नेतृ पनि हुन्। हाल परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिरहेकी डा. देउवा पार्टीको केन्द्रीय निर्णय प्रक्रियामा स्पष्ट उपस्थिति जनाउँदै आएकी छन्। आगामी महाधिवेशनमा उनलाई महिला महामन्त्रीको भूमिकामा अगाडि सार्ने योजना पनि देउवाको नेतृत्व तयारीसँग जोडिएको बुझिन्छ।
संख्यात्मक बलसहित दूरदृष्टियुक्त राजनीतिज्ञ
सभापति देउवाले पार्टीभित्रको संख्यात्मक समर्थन अहिले पनि मजबुत रूपमा कायम राखेका छन्। एकथरीले अबको समयमा नयाँ पुस्तालाई मार्ग प्रशस्त गर्न देउवाले पद छाड्नुपर्ने तर्क गरे पनि, उनले नेतृत्व हस्तान्तरणको तयारी गर्दै संस्थागत सशक्तीकरणलाई प्राथमिकता दिने नीतिअख्तियार गरेका छन्। पद त्यागभन्दा बढी, उनले पछि पनि पार्टीको मूलधारमा सकारात्मक भूमिका खेल्ने अवस्था सुनिश्चित गर्दै राजनीतिक उत्तराधिकार निर्माण गरिरहेका छन्।
देउवाको राजनीति अब केवल सत्ता सञ्चालन वा गुट व्यवस्थापनसम्म सीमित छैन। अनुभव, सन्तुलन र दीर्घदृष्टिसहित उनले लोकतान्त्रिक अभ्यासलाई संस्थागत बनाउने जिम्मा लिएका छन्। उनले देखाएको संयम, सहिष्णुता र सबैलाई समेट्ने क्षमता नै आजको अस्थिर नेपाली राजनीतिमा एउटा स्थायित्व दिने जग बनेको छ।
शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस न केवल आगामी महाधिवेशनको तयारी गरिरहेको छ, बरु एक स्थायी, सशक्त र समावेशी दलको रूपमा पुनःस्थापित हुँदैछ। अनुभवी र दूरदर्शी नेता देउवाको सन्तुलित राजनीतिले आज पनि कांग्रेसलाई संगठित राख्न सफल भइरहेको छ, र आगामी पुस्ताका नेताहरूलाई नेतृत्व हस्तान्तरणको जिम्मेवार योजना पनि सँगसँगै अघि बढिरहेको छ।